
काठमाडौंस्थित कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै उत्कृष्ट जित दर्ता गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनायो। नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ९४ रनको महत्वपूर्ण इनिङ खेले। उनलाई आरिफ शेखले साथ दिँदै मध्यक्रममा इनिङलाई मजबुत बनाए। ओमानका बलरहरूले बीचमा दबाब सिर्जना गरे पनि नेपाली ब्याट्सम्यानले सम्मानजनक योगफल तयार पारे।
२५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा मात्र १७५ रनमै अलआउट भयो। नेपालका गुल्सन झाले घातक बलिङ गर्दै ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए। उनको उत्कृष्ट स्पेलले ओमानको ब्याटिङ क्रम तहसनहस बनायो। यो उनको ओडिआई करियरको दोस्रो ५ विकेट हो। यसअघि पनि उनले ओमान विरुद्ध नै ५ विकेट लिएका थिए।


ओमानका लागि विनायक शुक्लाले ३६ रन, हम्मद मिर्जाले ३४ रन र हसनैन वाहावले २९ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। कप्तान जतिन्दर सिंह मात्र १२ रनमा आउट भए।
नेपालका अन्य बलरमध्ये करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए।
यस जितसँगै नेपालले सिरिजका ४ मध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ। २४ खेलबाट १८ अंकसहित नेपाल लिग टु तालिकामा सातौं स्थानमा यथावत छ। अब नेपालले आगामी शृंखला वैशाख २९ गतेदेखि अमेरिका र स्कटल्यान्डसँग घरेलु मैदानमै खेल्नेछ।






























