
उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न जिल्ला अदालत काठमाडौँले अस्वीकार गरेको छ। न्यायाधीश मोना सिंहको इजलासले हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै म्याद थप्न नमिल्ने आदेश दिएको हो।

आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार हिरासत आवश्यक नदेखिएको उल्लेख छ। यससँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउनुपर्ने भएको छ।

यसअघि सर्वोच्च अदालतले पनि धरौटी र जमानतको व्यवस्था हुँदाहुँदै थुनामा राखेर अनुसन्धान गरिएको विषयमा प्रश्न उठाएको थियो। बीमासम्बन्धी कसुरमा रिट निवेदनमा मागदाबी नभएको भन्दै अदालतले सीमित टिप्पणी गरेको थियो।

सर्वोच्चको आदेशपछि सीआईबीले धितोपत्र कसुरको साटो बीमासम्बन्धी आरोपमा अनुसन्धान अघि बढाएको जनाएको थियो। तर अदालतले पुनः म्याद थप अस्वीकार गरेसँगै गोल्छा प्रकरणले नयाँ कानुनी मोड लिएको छ। अनुसन्धान अब हिरासतबाहिरै अघि बढ्ने भएको छ।






























