
संघीय सरकारको निर्णयविपरीत आइतबार पनि देशभरका धेरै विद्यालय सञ्चालन भएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वयका लागि पत्राचार गरेको छ। मन्त्रालयले स्थानीय तहमार्फत निर्णय कार्यान्वयन गराउन सहजीकरण गरिदिन आग्रह गरेको हो।

शनिबार र आइतबार विद्यालय बन्द गर्ने संघीय सरकारको निर्णय भए पनि धेरै स्थानीय तहले त्यसको अवहेलना गर्दै आइतबार पनि पठनपाठन सञ्चालन गरिरहेका छन्। यही अवस्थापछि शिक्षा मन्त्रालयले जेठ ११ मा मन्त्रिस्तरीय निर्णय गर्दै समन्वयका लागि पत्र पठाएको हो।
‘विद्यालय सञ्चालनमा एकरूपता कायम गर्ने सम्बन्धमा’ शीर्षकमा जारी पत्रमा सरकारी निर्णयअनुसार शैक्षिक संस्थामा पनि दुई दिने सार्वजनिक बिदा लागू गर्नुपर्ने उल्लेख छ। पत्रमा सबै स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ।


तर निर्णय कार्यान्वयनमा एकरूपता नहुँदा शैक्षिक क्यालेन्डर प्रभावित हुने भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको छ। संघीय र स्थानीय तहबीचको असमझदारीले विद्यालय व्यवस्थापनमै अन्योल देखिएको छ।

































