
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य आशिका तामाङ ले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै संसद्मा आएर स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्।

‘नेपालले पनि भारतको जग्गा अतिक्रमण गरेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद बढिरहेका बेला तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। उनले यस विषयमा प्रधानमन्त्रीले संसद्मा उपस्थित भई प्रतिपक्षका प्रश्नहरूको जवाफ दिनुपर्ने बताएकी छन्।

तामाङले विपक्षी दलको निरन्तर अवरोधका कारण सभामुख डीपी अर्याल समेत दबाबमा परेको टिप्पणी गरेकी छन्। “हरेक दिन सभामुखको मुख सानो–सानो न्याउरो देख्दै गएको देख्छु, यो राम्रो हो त?” भन्दै उनले सभामुखले चाहेर पनि प्रभावकारी रूपमा सदन सञ्चालन गर्न नसकेको आभास भएको उल्लेख गरेकी छन्।

उनले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भई प्रतिपक्षका जिज्ञासाको जवाफ दिन र सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेकी छन्। “कृपया सदनमा आइदिनुहोस्, प्रतिपक्षका सवालहरूको जवाफ दिनुहोस् र हामी सत्तापक्षको पनि मन राखिदिनुहोस्,” तामाङले लेखेकी छन्।































