
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा उच्च अदालत दिपायलले जिल्ला अदालत अछामको फैसला उल्ट्याउँदै ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र न्यायाधीश पुनम सिंह चन्दको संयुक्त इजलासले सज्जन शाही, महेन्द्र शाही, बिरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो। अदालतले प्रत्येकलाई पीडित पक्षलाई १/१ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न पनि आदेश दिएको छ।
तीमध्ये सज्जन शाही नेपाली कांग्रेसका नगर सभापति हुन्। अन्य चार प्रतिवादी पानमति बम शाही, द्रोपति शाही, कर्णबहादुर शाही र शान्ति कुमारी शाहीको हकमा जिल्ला अदालतकै फैसला सदर गरिएको छ।


यसअघि ४ मंसिर २०८२ मा जिल्ला अदालत अछामले सबै प्रतिवादीलाई सफाइ दिएको थियो। ३० वैशाख २०७९ को स्थानीय तह चुनावका दिन कांग्रेस–एमाले कार्यकर्ताबीच भएको विवादपछि कुटपिट र झडप भएको थियो।
झडपका क्रममा बेपत्ता भएका शाही २१ जेठमा जंगलमा मृत फेला परेका थिए। घटनाले जिल्लामा ठूलो राजनीतिक तनाव सिर्जना गरेको थियो।






























