
जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलनका प्रमुख नेताहरू लामो समयपछि एउटै सार्वजनिक मञ्चमा देखिएका छन्। मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको विचार गोष्ठीमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल तथा झलनाथ खनाल लगायत शीर्ष वाम नेताहरू अतिथि र वक्ताका रूपमा सहभागी भए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहेको कार्यक्रममा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयमा विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि प्रदान गरिएको थियो।

पछिल्लो समय राजनीतिक दलहरूबीच बढेको दूरीका बीच सम्पन्न यो कार्यक्रमलाई शीर्ष वाम नेताहरूबीच संवाद, सहकार्य र साझा धारणा निर्माणको अवसरका रूपमा हेरिएको छ। राजनीतिक वृत्तमा यसलाई भविष्यमा वामपन्थी शक्तिहरूबीच सहकार्यको सम्भावित संकेतका रूपमा समेत अर्थपूर्ण रूपमा व्याख्या गरिएको छ।

































