
उच्च शिक्षालाई व्यवस्थित, समयबद्ध र प्रभावकारी बनाउने उद्देश्यले सरकारले परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत नयाँ क्यालेन्डर स्वीकृत गर्दै सबै विश्वविद्यालयमा लागू गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत परिपत्र गर्ने निर्णय गरेको हो।

विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा तयार गरेको क्यालेन्डर कार्यान्वयन भएपछि भर्ना, अध्यापन, परीक्षा र नतिजा प्रकाशनलगायत सम्पूर्ण शैक्षिक गतिविधि निर्धारित समयतालिकाअनुसार सञ्चालन हुने अपेक्षा गरिएको छ।
आयोगका उपनिर्देशक रमेशप्रसाद अधिकारीका अनुसार यसले विश्वविद्यालयहरूबीच शैक्षिक गतिविधिमा एकरूपता ल्याउने र उच्च शिक्षाको गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।


सरकारको सयदिने कार्ययोजनाअन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा तथा नतिजा निर्धारित क्यालेन्डरअनुसार सञ्चालन गर्ने लक्ष्यलाई समेत यस निर्णयले कार्यान्वयनमा ल्याएको हो।
यसअघि २०८० मा स्वीकृत क्यालेन्डरलाई बदलिँदो शैक्षिक आवश्यकता र समयअनुकूल परिमार्जन गरिएको हो। विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० अनुसार क्यालेन्डर कार्यान्वयन गरिनेछ भने आवश्यक निर्देशन आयोगमार्फत सम्बन्धित विश्वविद्यालयहरूलाई पठाइने मन्त्रालयले जनाएको छ।
































