
असार महिना सुरु भएयता १४६ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना (निजामती)का अनुसार यो संख्या सोही अवधिमा अनिवार्य अवकाशमा जाने कर्मचारीभन्दा बढी रहेको हो।

महानिर्देशक श्रवण पोखरेलका अनुसार असार १ गतेदेखि १९ गतेसम्मको १५ कार्यदिनमा १४६ कर्मचारीले राजीनामा दिएका छन् भने देशभरबाट १४२ जना अनिवार्य अवकाशमा गएका छन्। विभिन्न व्यक्तिगत तथा अन्य कारणले कर्मचारीहरूले राजीनामा दिइरहेका छन्।
राजीनामा दिनेमा सहसचिवदेखि सहायक तहसम्मका कर्मचारी रहेका छन्। तथ्यांकअनुसार ५ जना सहसचिव, ३३ जना उपसचिव, २९ जना शाखा अधिकृत तथा ७९ जना सहायक स्तरका कर्मचारीले पदबाट राजीनामा दिएका छन्।


राजीनामा बुझाएका अधिकांश कर्मचारीले पेन्सनका लागि ‘ई–पेन्सन’ प्रणालीमार्फत आवेदन दिइसकेको महानिर्देशक पोखरेलले जानकारी दिए। राजीनामा दिने कर्मचारीको संख्या बढ्दै जाँदा ‘ई–पेन्सन’ सेवामा आवेदनको चाप पनि उल्लेख्य रूपमा बढेको छ।
यसले पेन्सन व्यवस्थापनमा राष्ट्रिय किताबखानामाथि अतिरिक्त प्राविधिक तथा प्रशासनिक दबाब सिर्जना गरेको पोखरेलले बताए। कर्मचारी व्यवस्थापन र पेन्सन प्रक्रिया थप प्रभावकारी बनाउन आवश्यक स्रोत–साधन र व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ।
































