
सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै ओलम्पिक खेलमा सहभागिता जनाएका ख्यातिप्राप्त खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ। आइतबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री बेलबहादुर रानामगरको प्रमुख आतिथ्यतामा खेलाडीहरूलाई जनही ७० हजार रुपैयाँ नगद, सम्मान–पत्र र दोसल्ला प्रदान गरिएको हो।

सम्मानित हुने खेलाडीहरूमा बक्सिङका विष्णुबहादुर सिंह र डम्बरदत्त भट्ट, चार पटकका दक्षिण एसियाली स्वर्ण पदक विजेता तथा ओलम्पियन तेक्वान्दो खेलाडी दीपक विष्ट, तेक्वान्दोकी निशा रावल, पौडीकी गौरिका सिंह, ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सकी सरस्वती भट्टराई, तेक्वान्दोका भरतसिंह महरा तथा पारा एथलेटिक्सका विक्रमबहादुर राना रहेका छन्। परिषद्ले भारोत्तोलनका स्वर्गीय भरतबहादुरलाई मरणोपरान्त सम्मान गरेको छ।

कार्यक्रममा बोल्दै दीपक विष्टले स्रोत–साधनको अभावका बाबजुद सुदूरपश्चिमले नेपाली खेलकुदमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गरे। यस्ता सम्मानले खेलाडीलाई थप प्रेरणा मिल्ने भन्दै उनले खेल क्षेत्रमा पर्याप्त बजेट र दीर्घकालीन लगानीको आवश्यकता औंल्याए।

सामाजिक विकास मन्त्री रानामगरले खेलाडीहरू राष्ट्रका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै प्रदेश सरकार खेलकुदको विकास, प्रतिभा संरक्षण र खेलाडीको वृत्ति विकासप्रति प्रतिबद्ध रहेको बताए। सीमित स्रोतका बीच पनि सुदूरपश्चिमले खेल क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै उनले आगामी दिनमा खेल पूर्वाधार र खेलाडीको प्रोत्साहनमा थप ध्यान दिइने विश्वास व्यक्त गरे।
































