
धनगढी : सुदूरपश्चिम प्रदेशमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार हुने संकेत देखिएको छ । ओम्नी मोबिलिटी प्रालिले (आज)बुधबार धनगढीमा एकैदिन ६ वटा किटोन ईभी भ्यान ग्राहकलाई हस्तान्तरण गर्दै व्यावसायिक यातायात क्षेत्रमा विद्युतीय सवारीको प्रयोगलाई नयाँ गति दिएको हो ।

बढ्दो इन्धन मूल्य, सञ्चालन खर्चमा हुने बचत तथा वातावरण संरक्षणप्रतिको बढ्दो सचेतनाका कारण व्यवसायीहरू विद्युतीय सवारीसाधनतर्फ आकर्षित भइरहेका छन् । सार्वजनिक यातायात, होटल, शैक्षिक संस्था तथा अन्य व्यावसायिक क्षेत्रले ईभीलाई भरपर्दो र किफायती विकल्पका रूपमा अपनाउन थालेका छन् ।
दैनिक व्यावसायिक सञ्चालनलाई लक्षित गरी डिजाइन गरिएको किटोन ईभी भ्यानमा १४ सिट क्षमता र २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा जडान गरिएको ५३.५८ किलोवाट-घण्टा (kWh) क्षमताको CATL ब्याट्रीले एकपटक पूर्ण चार्जमा करिब ३०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । यसबाट इन्धन खर्चमा उल्लेखनीय बचत हुनुका साथै व्यवसायीलाई दीर्घकालीन रूपमा आर्थिक लाभ पुग्ने विश्वास कम्पनीको छ ।


ओम्नी मोबिलिटीका अनुसार नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनप्रतिको माग निरन्तर बढ्दो क्रममा छ । सोही मागलाई मध्यनजर गर्दै कम्पनीले बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको सहज उपलब्धता तथा दक्ष प्राविधिक सहयोगलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिरहेको जनाएको छ ।
हाल कम्पनीले नेपाली बजारमा किटोन ईभी भ्यान, चेरी वान्डा ईभी बस तथा चेभू ईभी भ्यान उपलब्ध गराउँदै आएको छ । देशभर सेवा सञ्जाल विस्तार गर्दै विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोगलाई थप प्रवर्द्धन गर्ने लक्ष्य कम्पनीले लिएको जनाएको छ ।





























