
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएर २ लाख ८५ हजार २ सय रुपैयाँ पुगेको छ। बुधबार यही सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ५१५ रुपैयाँ निर्धारण गरेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण पछिल्ला दिनमा सुनको मूल्यमा उतारचढाव जारी रहेको छ।

यता, चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार ७०८ रुपैयाँ कायम गरिएको छ। सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्यमा आएको गिरावटले बजारमा मिश्रित अवस्था देखिएको छ। व्यवसायीहरूले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार दुवै बहुमूल्य धातुको मूल्यमा थप परिवर्तन हुन सक्ने बताएका छन्।





























