
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको तलब, पारिश्रमिक तथा सुविधामा वृद्धि गर्ने विषयमा सरकार सकारात्मक र उदार रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले स्वकीय सचिवहरूको पारिश्रमिकसँगै फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्ता पनि समयसापेक्ष बनाउने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार आवश्यक कानुनी प्रक्रिया र विधि पूरा गरेर भ्रमण भत्ता लगायतका सुविधालाई वर्तमान आवश्यकताअनुसार परिमार्जन गर्न सरकार नकारात्मक छैन। उनले सांसदका स्वकीय सचिवहरूको सेवासुविधा सुधार गर्ने विषयमा सरकारले सकारात्मक दृष्टिकोण राखेको स्पष्ट पारे।

बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक ऐनमा प्रस्तावित संशोधनका विषयमा पनि खुला, स्वस्थ र विधिसम्मत छलफलमार्फत सहमति खोजिने बताए। राष्ट्र बैंकको सञ्चालक समितिमा कति सदस्य रहने भन्ने विषयसमेत आवश्यक छलफलबाट टुंगो लगाउन सकिने उनको भनाइ थियो। सरकार सुधारका प्रस्तावहरूमा संवाद र सहमतिमार्फत अघि बढ्ने पक्षमा रहेको उनले दोहोर्याए।





























