
मन्त्रिपरिषद्ले १ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएपछि नयाँ सिक्काबाट नेपालको चुच्चे नक्सा हटाइने चर्चा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा व्यापक बनेको छ। यस विषयलाई लिएर सरकार र राष्ट्र बैंकको आलोचना समेत भइरहेको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नयाँ डिजाइनका सिक्का छाप्न सरकारको स्वीकृति आवश्यक हुने भए पनि मन्त्रिपरिषद्को निर्णयको पूर्ण विवरण राष्ट्र बैंकलाई प्राप्त नभएकाले आधिकारिक रूपमा डिजाइनबारे पुष्टि गर्न सकिने अवस्था छैन।

स्रोतहरूका अनुसार नयाँ सिक्काको अगाडिको भागमा हाल रहेको चुच्चे नक्साको सट्टा मुस्ताङस्थित ऐतिहासिक **लो घ्याकर (घार) गुम्बा**को चित्र राख्ने तयारी गरिएको छ। सातौँ शताब्दीमा निर्माण भएको मानिने यो गुम्बा नेपालको सबैभन्दा पुरानो गुम्बामध्ये एक हो।

यद्यपि, चुच्चे नक्सा हटाएर गुम्बा राख्ने विषयलाई केहीले भूराजनीतिक दृष्टिले पनि हेरेका छन्। गुम्बाको संरक्षण अमेरिकी सहयोगमा भएको र सीमासम्बन्धी पछिल्ला राजनीतिक बहससँग जोडेर यसको विरोध भइरहेको भए पनि यसबारे सरकारले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।





























