
नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ। आइतबार प्रतितोला एक हजार नौ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार थप छ सय रुपैयाँले वृद्धि हुँदै नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार यसको मूल्य २ लाख ८४ हजार रुपैयाँ कायम थियो।

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला ४ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ८० रुपैयाँले बढेर ४ हजार ३ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

नेपालमा सुन–चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको अवस्था र अमेरिकी डलरको विनिमय दरका आधारमा दैनिक निर्धारण हुने गर्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस करिब ४ हजार १६ अमेरिकी डलर आसपास कारोबार भइरहेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।






























