अब बिल लिए नगद उपहार: सरकारले ल्यायो १० लाख रुपैयाँसम्म जित्ने नयाँ योजना

Image
Nisarga Hospital

आन्तरिक राजस्व संकलनलाई थप प्रभावकारी बनाउन सरकारले उपभोक्तालाई बिल लिन प्रोत्साहन गर्ने उद्देश्यसहित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको छ। अब व्यक्तिगत प्रयोजनका लागि नेपालभित्र १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा बिल लिने उपभोक्ताले नगद उपहार जित्ने अवसर पाउनेछन्।

CP Hospital Dhangadhi
Attariya Hospital

कार्यक्रमअनुसार विद्युतीय भुक्तानीमार्फत गरिएको कारोबार स्वतः प्रणालीमा समावेश हुनेछ। नगदमा खरिद गरेको अवस्थामा भने उपभोक्ताले विभागको वेबसाइट वा मोबाइल एपमार्फत बिल नम्बर, प्यान, मिति र रकम प्रविष्ट गर्नुपर्नेछ। एउटै बिल एकपटक मात्रै प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ।

हरेक महिनाको १ र १६ गते स्वचालित प्रणालीबाट विजेता छनोट गरिनेछ। दैनिक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ र प्रत्येक १५ दिनमा छनोट हुने बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यद्यपि, पुरस्कार रकममा आयकर ऐनअनुसार २५ प्रतिशत कर कट्टी गरिनेछ।

सरकारी निकायका बिल, व्यावसायिक प्रयोजनका खरिद, टेलिफोन, विद्युत्, सवारीसाधन तथा हवाई टिकट भने यस योजनामा समावेश हुने छैनन्। विजेताले १५ दिनभित्र सक्कल बिल, परिचयपत्र र बैंक विवरणसहित उपहार दाबी गर्नुपर्नेछ। नक्कली बिल पेश गरे कानुनी कारबाही हुने र दाबी नगरिएको पुरस्कार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ। सरकारले यस कार्यक्रमले बिल लिने संस्कृतिको विकास गर्दै कर प्रणालीलाई थप पारदर्शी बनाउने विश्वास लिएको छ।