
नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टीभित्र देखिएको असमझदारी, गुटगत तिक्तता र विभाजन अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई दबाब दिने निर्णय गरेका छन्। उनीहरूले आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र विश्वास, संवाद, सहकार्य र संगठनात्मक एकता सुदृढ गर्न नेतृत्वले समयमै प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा उपलब्ध नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलाले पार्टीभित्र बढ्दो ध्रुवीकरणले संगठनलाई कमजोर बनाउने निष्कर्ष निकाल्दै एकताको वातावरण निर्माण अपरिहार्य रहेको जनाएको छ। भेलाले पार्टीको आन्तरिक विवादलाई संवादका माध्यमबाट समाधान गरी साझा नेतृत्व र साझा अभियानका साथ आगामी निर्वाचनमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ।
यसैबीच, जनप्रतिनिधिहरूले आगामी **साउन १६ गते काठमाडौंमा** देशभरका नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागितामा **‘पार्टी एकता तथा आसन्न स्थानीय र प्रदेश निर्वाचन’** विषयक दबाबमूलक राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेका छन्। उक्त भेलामार्फत पार्टी एकताको पक्षमा स्पष्ट सन्देश प्रवाह गर्दै नेतृत्वलाई आवश्यक निर्णयका लागि दबाब दिने तयारी गरिएको जनाइएको छ।


चाँगुनारायण नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति **जीवन खत्री**ले राष्ट्रिय भेलामा देशभरका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने जानकारी दिए। उनका अनुसार भेलामा पार्टीभित्र देखिएका असमझदारी, तिक्तता र संगठनात्मक चुनौतीबारे खुला छलफल गरिनेछ भने एकताको पक्षमा साझा धारणा निर्माण गरिनेछ।
खत्रीले आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारको विजय सुनिश्चित गर्न आवश्यक रणनीति, संगठनात्मक सुदृढीकरण, कार्यगत समन्वय र जनप्रतिनिधिहरूको भूमिकाबारे समेत व्यापक छलफल हुने बताए।
जनप्रतिनिधिहरूले राष्ट्रिय भेलामार्फत पार्टी नेतृत्वलाई एकताबद्ध भएर अघि बढ्न स्पष्ट सन्देश दिने, कार्यकर्ताबीच विश्वासको वातावरण निर्माण गर्ने तथा कांग्रेसलाई थप सशक्त, संगठित र जनविश्वासयुक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने साझा प्रतिबद्धता व्यक्त गर्ने अपेक्षा गरिएको छ।
































