
नेपाल विद्युत् प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप राहत र उद्योग क्षेत्रलाई प्रतिस्पर्धी दरमा विद्युत् उपलब्ध गराउने उद्देश्यसहित विद्युत् महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नयाँ महसुल संरचना तयार गर्न विशेष समिति गठन गर्ने निर्णय गरेको हो।

समितिलाई हालको महसुल दरको समीक्षा गर्दै १५ दिनभित्र नयाँ दर संरचनासम्बन्धी सिफारिससहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। विद्युत् उत्पादन बढ्दै जाँदा वर्षायाममा अतिरिक्त विद्युत् खेर जाने अवस्था सिर्जना भएकाले आन्तरिक खपत बढाउने लक्ष्यसहित महसुल पुनरावलोकनलाई प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ।

सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, ऊर्जा तथा वित्त विज्ञ, उपभोक्ता प्रतिनिधि र प्राधिकरणका अधिकारी सहभागी रहनेछन्। समितिले गार्हस्थ्य उपभोक्तालाई राहत, विद्युतीय उपकरणको प्रयोगमा प्रोत्साहन तथा उद्योगको उत्पादन लागत घटाउने गरी नयाँ महसुल संरचना प्रस्ताव गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालन परियोजनासम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छानबिन समिति पनि गठन गरेको छ। उक्त समितिलाई दुई महिनाभित्र अध्ययन तथा आवश्यक सुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। प्राधिकरणको यो निर्णयलाई विद्युत् खपत विस्तार, उद्योग प्रवर्द्धन र उपभोक्तालाई राहत दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।






























