
अत्तरियाः नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य आनन्द बिष्टले सुनसरीसहित मधेश प्रदेशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुतालाई कुनै पनि हालतमा कमजोर हुन नदिन सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

बिहीबार जारी अपिलमा उनले नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले हिन्दू–मुस्लिम समुदायबीच सदियौंदेखि कायम रहेको आपसी विश्वास, सम्मान र दाजुभाइको सम्बन्धलाई कुनै पनि उक्साहट, अफवाह वा घृणात्मक गतिविधिले भत्काउन नहुने बताएका छन्।
नेता बिष्टले सबै नेपाली एउटै माटोका सन्तान भएको, एउटै देशको हावापानीमा हुर्किएको र सुख–दुःखमा सँगै उभिँदै आएको स्मरण गराउँदै अहिलेको संवेदनशील अवस्थामा धैर्य, संवाद र आपसी समझदारी नै सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गरेका छन्। उनले कुनै पनि घटनालाई लिएर प्रतिशोध, हिंसा वा द्वेषको बाटो रोज्नु समाधान नभई समाजलाई थप विभाजित बनाउने चेतावनी दिएका छन्।


उनका अनुसार धर्म फरक भए पनि नेपालीको साझा पहिचान, मानवता र राष्ट्रिय हित सबैभन्दा माथि रहनुपर्छ। त्यसैले सबै समुदाय, राजनीतिक दल, सामाजिक अगुवा तथा सरोकारवाला निकायले जिम्मेवार भूमिका निर्वाह गर्दै धार्मिक सद्भाव कायम राख्न सक्रिय हुनुपर्ने आवश्यकता रहेको उनले औंल्याएका छन्।
बिष्टले सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना र भ्रामक प्रचारप्रति पनि सचेत रहन आग्रह गर्दै प्रमाणित तथ्यमा मात्रै विश्वास गर्न सबैलाई अनुरोध गरेका छन्। उनले कुनै पनि विवाद वा असमझदारीलाई कानुनी प्रक्रिया, संवाद र आपसी सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र भाइचाराको भावना अझ बलियो बनाउन सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्।































