
अमेरिका र इरानबीच करिब छ महिनादेखि जारी तनावले विश्व ऊर्जा बजारमा ठूलो प्रभाव पारेको छ। विशेषगरी खाडी क्षेत्रको रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग प्रभावित भएपछि कच्चा तेलको आपूर्ति घटेको, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र धेरै देशमा इन्धनको लागत महँगिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार द्वन्द्वकै प्रभावले ब्रेन्ट क्रुडको मूल्य केही महिनाअघि प्रतिव्यारेल करिब ७० अमेरिकी डलरबाट बढेर १०० डलर नाघेको थियो। एक चरणमा यसको मूल्य १२६ डलरसम्म पुगेको जनाइएको छ। यसले विश्व बजारमा इन्धनको मूल्य अस्थिर बनाएको छ।
यद्यपि यही परिस्थितिबाट अमेरिकी ठूला तेल कम्पनीहरूले उल्लेखनीय आर्थिक लाभ उठाएका छन्। दोस्रो त्रैमासिकमा एक्सन मोबिलको नाफा दोब्बरभन्दा बढी बढेर १४ अर्ब ५३ करोड अमेरिकी डलर पुगेको छ भने कम्पनीको कुल आम्दानी ४२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, शेभरनको नाफा झन्डै चार गुणाले बढ्दै १२ अर्ब डलरभन्दा माथि पुगेको छ। कम्पनीको राजस्व पनि उल्लेखनीय रूपमा बढेको छ।


युरोपका प्रमुख छ तेल कम्पनीहरूले समेत पहिलो त्रैमासिकमा संयुक्त रूपमा २२ अर्ब अमेरिकी डलर नाफा कमाएको सार्वजनिक गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतभन्दा बढी वृद्धि हो।
ऊर्जा क्षेत्रका विज्ञहरूका अनुसार तेलको मूल्य कम्पनीहरूले प्रत्यक्ष रूपमा निर्धारण गर्ने होइन। विश्वव्यापी आपूर्ति, माग, बजारको अवस्था तथा प्रशोधन क्षमताले मूल्य निर्धारणमा मुख्य भूमिका खेल्छ। यस अवधिमा कच्चा तेललाई पेट्रोल, डिजेल र जेट इन्धनमा रूपान्तरण गर्ने प्रशोधन उद्योगले सबैभन्दा बढी लाभ उठाएको विश्लेषण गरिएको छ।






























