
काठमाडौंः नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह तुलाधर सिंगापुरमा आयोजित प्रतिष्ठित ‘एशिया बिजनेस लिडर्स अवार्ड्स’ अन्तर्गत ‘सीईओ अफ द इयर’ (CEO of the Year) अवार्डबाट सम्मानित भएका छन्। यो सम्मान केवल नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली निजी क्षेत्र र व्यावसायिक नेतृत्वका लागि पनि अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
एशिया बिजनेस लिडर्स अवार्ड्सले प्रत्येक वर्ष एशियाभरका उत्कृष्ट व्यवसायिक नेतृत्वकर्तालाई उनीहरूको दूरदर्शी नेतृत्व, रणनीतिक सोच, नवप्रवर्तन तथा उद्योग क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको मूल्यांकन गर्दै सम्मान प्रदान गर्दै आएको छ। यस वर्ष नेपाली व्यवसायिक नेतृत्वलाई विश्वमञ्चमा स्थापित गर्दै अभिनश वीर सिंह तुलाधरले उक्त प्रतिष्ठित सम्मान प्राप्त गरेका हुन्।
नेपाल लिकर्समा यसअघि डाइरेक्टर अफ अपरेसन्सका रूपमा सफल जिम्मेवारी सम्हालेका तुलाधर पछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। नयाँ पुस्ताका ऊर्जाशील नेतृत्वकर्ता मानिने उनी अमेरिकाको युनिभर्सिटी अफ रिचमन्ड (University of Richmond) तथा फ्रान्सको ईएसएसईसी बिजनेस स्कुल (ESSEC Business School) बाट उच्च शिक्षा हासिल गरेका छन्। अन्तर्राष्ट्रिय शैक्षिक अनुभवलाई व्यावहारिक व्यवस्थापनसँग जोड्दै उनले नेपाल लिकर्सलाई आधुनिक सोच, नवप्रवर्तन र प्रतिस्पर्धी व्यवसायिक रणनीतितर्फ अग्रसर गराएका छन्।
सम्मान प्राप्त गरेपछि तुलाधरले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको सामूहिक मेहनतको परिणाम भएको बताए। उनले यो सम्मान कम्पनीका संस्थापक आफ्ना पूज्य हजुरबुबा स्वर्गीय भक्त वीर सिंह तुलाधर को दूरदृष्टि, मार्गदर्शन तथा आफ्नो परिवारको निरन्तर साथप्रति समर्पित गर्दै भविष्यमा कम्पनीलाई अझ उच्च सफलतातर्फ लैजान प्रतिबद्ध रहेको उल्लेख गरे।
नेपाल लिकर्स परिवारले पनि तुलाधरलाई यस महत्वपूर्ण उपलब्धिका लागि हार्दिक बधाई ज्ञापन गर्दै उनको प्रेरणादायी नेतृत्वमा कम्पनीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ।
वि.सं. २०३६ मा स्थापना भएको नेपाल लिकर्स प्रालि नेपालका अग्रणी मदिरा उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीले देशभर उच्च गुणस्तरीय मदिराजन्य पेय पदार्थको उत्पादन, मिश्रण तथा वितरण गर्दै आएको छ। विश्वप्रसिद्ध Diageo को आधिकारिक फ्रेन्चाइज पार्टनरका रूपमा कार्यरत नेपाल लिकर्सले Signature Whisky र Smirnoff Vodka लगायतका अन्तर्राष्ट्रिय ब्रान्ड नेपाली बजारमा गुणस्तर, नवप्रवर्तन र व्यवसायिक नैतिकतासहित उत्पादन तथा वितरण गर्दै आएको छ।
नेपाल लिकर्सका सीईओ अभिनश वीर सिंह तुलाधरलाई प्राप्त यो अन्तर्राष्ट्रिय सम्मानले नेपाली व्यवसायिक नेतृत्वको क्षमता, दक्षता र विश्वस्तरीय प्रतिस्पर्धात्मक सम्भावनालाई थप उजागर गरेको विश्वास गरिएको छ।
































