
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले तोकेको मूल्यभन्दा बढीमा खाना पकाउने ग्यास बिक्री गर्ने एक किराना पसललाई ३ लाख रुपैयाँ जरिबाना गरेको छ।

विभागका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित ‘अनिल किराना पसल’ले उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको पाइएको हो। विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार पसलले सुगम ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको भेटिएको थियो।
जबकि सरकारले तोकेको एक सिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ रहेको छ। यसरी प्रतिसिलिन्डर ५४० रुपैयाँ बढी लिएर ग्यास बिक्री गरेको अनुगमनका क्रममा फेला परेको विभागले जनाएको छ।


उपभोक्ताबाट बढी रकम असुल गरी ठगी गरेको प्रत्यक्ष प्रमाण भेटिएपछि पसललाई कारबाही गरिएको सूचना अधिकारी किरातीले बताए। उनका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त पसललाई तत्काल ३ लाख रुपैयाँ जरिबाना तिराइएको हो।
विभागले बजारमा ग्यासलगायत दैनिक उपभोग्य वस्तु तोकिएको मूल्यभन्दा बढीमा बिक्री नगर्न व्यवसायीलाई सचेत गराउँदै उपभोक्ता ठगीविरुद्ध अनुगमन तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।






























