
अत्तरियाः धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण तथा लेन अनुशासन कायम गर्ने उद्देश्यले सचेतनामूलक अभियान थालिएको छ। अभियानअन्तर्गत गोदावरी नगरपालिका–५ र वडा नम्बर १ का विभिन्न स्थानमा भित्ते चित्र तथा रेडियम स्टिकरसहितका होर्डिङ बोर्ड स्थापना गरिएको हो।

सुन्दर सुदूरपश्चिम यातायात प्रालि, नवजीवन अस्पताल प्रालि र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सौजन्य तथा गोदावरी नगरपालिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र जिल्ला ट्राफिक कार्यालय कैलालीको सहकार्यमा बोर्डहरू राखिएका हुन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले धेरै चालक अझै पनि लेन अनुशासनबारे पर्याप्त जानकार नरहेको बताए। सडकमा राखिएका संकेत तथा ट्राफिक नियमअनुसार सवारी सञ्चालन गर्न सके दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।
दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियानमा सक्रिय चालक अमर बिष्टले जानकारी हुँदाहुँदै पनि कतिपय चालकले लेन मिच्ने गरेको बताए। उनका अनुसार बोर्ड स्थापना गर्न आफूले करिब दुई महिनादेखि विभिन्न संघसंस्थासँग सहकार्य र आर्थिक सहयोगका लागि पहल गर्दै आएका थिए।

बिष्टले दुर्घटना भएपछि उपचार तथा राहतका लागि ठूलो रकम खर्च गर्ने संस्था तथा कल्याणकारी कोषहरूले दुर्घटना रोकथामका लागि सञ्चालन हुने पूर्वसचेतनामूलक अभियानमा पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए।
बोर्ड निर्माण तथा स्थापनामा सहयोग गर्ने सुन्दर सुदूरपश्चिम यातायात प्रालि, नवजीवन अस्पताल प्रालि र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनप्रति उनले आभार व्यक्त गरे।
अभियानमा सहजीकरण तथा सहयोग गर्ने गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट, वडा नम्बर १ का अध्यक्ष गोपालदत्त भट्ट, विपद् व्यवस्थापन शाखाका सुपरभाइजर प्रमलसिंह महरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको टोली र जिल्ला ट्राफिक कार्यालय कैलालीप्रति समेत बिष्टले धन्यवाद व्यक्त गरेका छन्।
कार्यक्रममा सुन्दर सुदूरपश्चिम यातायात प्रालिका सचिव रामदत्त भट्टलगायतको उपस्थिति रहेको थियो। अभियानले ६ लेन सडकमा सवारी चालकलाई सही लेन प्रयोग, ट्राफिक नियमको पालना र सुरक्षित यात्राप्रति थप सचेत बनाउने अपेक्षा गरिएको छ।






























