गोदावरी नगरपालिकामा नवप्रवर्तन बजेट अन्यत्र सारिँदा युवामा निराशा

Image
Nisarga Hospital

कैलाली: सुदूरपश्चिम प्रदेशमा नवप्रवर्तन, विज्ञान तथा प्रविधिको विकासका लागि विगत केही वर्षदेखि निरन्तर प्रयासरत गोदावरी आविष्कार केन्द्र (GiC) ले गोदावरी नगरपालिकाले नवप्रवर्तन प्रवर्द्धनका लागि विनियोजन गरेको बजेट अन्यत्र सारिएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ।

CP Hospital Dhangadhi

चालु आर्थिक वर्षमा गोदावरी नगरपालिकाले नवप्रवर्तन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नका लागि रु. ३ लाख बजेट विनियोजन गरेको थियो। यद्यपि कार्यपालिका समितिको निर्णयबाट उक्त बजेट नवप्रवर्तन कार्यक्रमका सट्टा नगरपालिकाको गीत तथा संगीत निर्माणतर्फ खर्च गर्ने निर्णय भएको बताइएको छ।

गोदावरी आविष्कार केन्द्रका सदस्य शेखर राम साउदका अनुसार, “यो रकम ठूलो नभए पनि स्थानीय युवाहरूलाई विज्ञान, प्रविधि, रोबोटिक्स, अनुसन्धान तथा सिर्जनशील कार्यतर्फ आकर्षित गर्न महत्वपूर्ण सुरुवात हुन सक्थ्यो। सानो लगानीले पनि धेरै युवाको सोच र भविष्य परिवर्तन गर्न सक्ने सम्भावना थियो।”

nawajiwan

उनले थपे, “दुर्भाग्यवश, गत वर्ष पनि यस्तै अवस्था भएको थियो। नवप्रवर्तन र सिर्जनशीलतालाई प्राथमिकता दिनुपर्ने समयमा बजेट अन्यत्र मोडिनु सुदूरपश्चिमका युवाहरूका लागि निराशाजनक विषय हो।”

Attariya Hospital

स्थानीय युवाहरूले प्रश्न उठाएका छन्—यदि नगरपालिकाले मन्दिर निर्माण तथा विभिन्न दान-दक्षिणाका कार्यक्रमलाई प्राथमिकता दिन सक्छ भने, भविष्य निर्माण गर्ने नवप्रवर्तन केन्द्र र सिर्जनशील युवाहरूलाई किन प्राथमिकता दिन सक्दैन? विज्ञान, प्रविधि र उद्यमशीलताको माध्यमबाट समाज परिवर्तन गर्न चाहने युवाले स्थानीय सरकारबाट आखिर के अपेक्षा गर्ने?

गोदावरी आविष्कार केन्द्रले नवप्रवर्तन, अनुसन्धान, STEAM शिक्षा, रोबोटिक्स तथा स्थानीय समस्याको प्राविधिक समाधानमा काम गर्दै आएको छ। केन्द्रका अनुसार नवप्रवर्तनमा गरिएको सानो लगानीले पनि भविष्यमा रोजगारी सिर्जना, उद्यम विकास तथा स्थानीय उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

शेखर राम साउदले आशावादी हुँदै भने, “आज निराशा भए पनि भविष्यप्रति हाम्रो विश्वास कायम छ। आउने दिनहरूमा अवस्था अवश्य सुधार हुनेछ। नवप्रवर्तन, अनुसन्धान र सिर्जनशीलता आगामी स्थानीय निर्वाचनको प्रमुख एजेण्डा बन्नुपर्छ। युवाको भविष्य निर्माण गर्ने विषयलाई प्राथमिकतामा राख्ने नेतृत्वको आवश्यकता छ।”

स्थानीय नवप्रवर्तनकर्मीहरूका अनुसार सुदूरपश्चिमको समृद्ध भविष्यका लागि अब विकासको बहस केवल भौतिक संरचनामा सीमित नभई ज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुन आवश्यक छ।