
कञ्चनपुरः कञ्चनपुरको महाकाली नदीमा नेपाल टेलिकमको चुँडिएको तार पुनः तान्ने क्रममा सशस्त्र प्रहरीका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्ममा कार्यरत सागरराज थारु रहेका छन्। सशस्त्र प्रहरीका अनुसार शनिबार दिउँसो १२ः१५ बजे दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ रबर बोटको सहायताले तार वारपार तान्ने क्रममा उनी बेपत्ता भएका हुन्।
केही दिनअघि महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलको एक पिल्लरबाट पुल चुँडिँदा नेपाल टेलिकमको तारसमेत क्षतिग्रस्त भएको थियो। त्यसपछि दोधारा चाँदनी क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।

अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने उद्देश्यले नदीमा तार तान्ने काम भइरहेका बेला तार असई थारुको खुट्टामा अल्झिएको र उनी रबर बोटबाट नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ। घटनापछि बेपत्ता थारुको खोजी कार्य जारी रहेको छ। उनको अवस्था र खोजी कार्यको पछिल्लो विवरण आउन बाँकी छ।































