
बैतडीः बैतडीको पाटन नगरपालिका–६ स्थित प्रसिद्ध उदयदेव मन्दिरमा यस वर्ष कार्तिक १ र २ गते परम्परागत जात्रा लाग्ने भएको छ। ‘मैतड जात’का नामले समेत प्रसिद्ध उक्त जात्रामा राँगाको बलि दिने चलन रहेको छ। महाष्टमी र महानवमीका अवसरमा लाग्ने जात्रामा टाढाटाढाबाट भक्तजनहरू दर्शनका लागि आउने गर्छन्।

तिथिको घटबढका कारण जात्राको मितिबारे केही द्विविधा देखिए पनि कार्तिक १ गते महाष्टमीको पूजा र कार्तिक २ गते महानवमीको अवसरमा बलिसहित जात्रा हुने मन्दिरका सहायक पुजारी लवदेव जोशीले जानकारी दिए।
उनका अनुसार यस वर्ष कार्तिक १ र २ गते दुवै दिन महाष्टमी तिथि परेको छ। यद्यपि, तिथि गणनाअनुसार कार्तिक १ गते महाष्टमी र २ गते महानवमी मानेर उदयदेव मन्दिरमा परम्पराअनुसार जात्रा सञ्चालन गरिनेछ।

उदयदेव मन्दिरमा हरेक वर्ष महाष्टमी र महानवमीका दिन भव्य जात्रा लाग्ने गर्दछ। धार्मिक आस्था र परम्परासँग जोडिएको यस जात्रामा सहभागी हुन विभिन्न क्षेत्रबाट भक्तजनहरू आउने गरेका छन्।
जात्रालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको सिद्धनाथ उदयदेव धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष चमनकुमार भण्डारीले बताए। उनका अनुसार जात्रा लाग्ने क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। कार्तिक १ र २ गतेको जात्रा व्यवस्थित रूपमा सम्पन्न गर्न समितिले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए।

































