अत्तरियामा भोलिदेखि योगेन्द्र शाह स्मृति कप क्रिकेट प्रतियोगिता, विजेतालाई ५१ हजार पुरस्कार

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा स्वर्गीय योगेन्द्र शाहको स्मृतिमा योगेन्द्र शाह स्मृति कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। गोदावरी नगरपालिका–१, विजयनगरका युवाहरूको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता बुधबारदेखि सुरु हुने आयोजकका तर्फबाट महेश शाहले जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

प्रतियोगितामा गोदावरी नगरपालिकाका विभिन्न वडाबाट १६ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीलाई २१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य खेलकुदमार्फत युवालाई लागुऔषध दुर्व्यसनविरुद्ध सचेत गराउनु र स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नु रहेको महेश शाहले बताए। पछिल्लो समय लागुऔषधको समस्या बढ्दै गइरहेको सन्दर्भमा युवालाई खेलकुदतर्फ आकर्षित गर्दै सकारात्मक गतिविधिमा संलग्न गराउने लक्ष्य राखिएको उनले बताए।

nawajiwan

गत वर्ष गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा विजयनगरका युवा योगेन्द्र शाहको निधन भएको थियो। उनै शाहको सम्झनालाई जीवन्त राख्दै युवाबीच आपसी सद्भाव, खेल भावना र एकताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवालाई लागुऔषधको दुर्व्यसनबाट टाढा रहन प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ।

प्रतियोगिताको उद्घाटन बुधबार बिहान ८ बजे अत्तरियास्थित सशस्त्र प्रहरीको खेलमैदानमा हुने आयोजकले जनाएको छ।