
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित वनदेवी मन्दिरअगाडि मोटरसाइकल र ईभी अटो एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।

गोदावरीबाट अत्तरियातर्फ आउँदै गरेको मोटरसाइकलले अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको ईभी अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना र अटोमा सवार तीन जना घाइते भएका छन्। घाइते पाँचै जनाको अवस्था गम्भीर रहेको कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रेशमकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको छ। घाइतेहरूको नाम, ठेगाना तथा दुर्घटनाको विस्तृत विवरण भने खुल्न बाँकी रहेको उनले बताए।
व्यस्त सडक क्षेत्रमा भएको दुर्घटनापछि घटनाबारे थप विवरण आउन बाँकी छ।

































