बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

Image
Nisarga Hospital

बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने शास्त्रीय परम्परा छ। धार्मिक मान्यताअनुसार देवी कुष्माण्डाले भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप नष्ट गरी सुख, शान्ति र समृद्धि प्रदान गर्नुहुन्छ।

CP Hospital Dhangadhi

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर सुरु भएको दुर्गा पूजा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको आराधनासँगै आज चौथो दिनमा प्रवेश गरेको हो। नवरात्रका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने परम्परा छ।

नवरात्रका अवसरमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यही मान्यताअनुसार देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ।

काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवतीलगायत मन्दिरसँगै उपत्यकाबाहिरका मनकामना, गढीमाई, बागलुङ कालिका, विन्ध्यवासिनी, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनले पूजा आराधना तथा दर्शन गर्ने परम्परा छ।

नवरात्रको पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ। नौ दिनसम्म गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरी नेपालीहरूले १५ दिनसम्म बडादसैँ मनाउने गर्छन्।