बजेट बैठक बहिष्कार गरेपछि एमाले सांसद धर्मराज पाठक सामाजिक विकास समिति सभापतिबाट हटाइए

Image
Nisarga Hospital

धनगढीः  सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिका सभापति तथा नेकपा एमालेका सांसद धर्मराज पाठकलाई जिम्मेवारीबाट हटाइएको छ। प्रदेशसभामा बजेट पारित गर्ने बैठक बहिष्कार गरेपछि एमाले संसदीय दलको सिफारिसअनुसार उनलाई समिति सभापतिको जिम्मेवारीबाट मुक्त गरिएको हो।

CP Hospital Dhangadhi

सभामुख भीमबहादुर भण्डारीले एमाले संसदीय दलको निर्णयसम्बन्धी पत्र प्राप्त भएको जानकारी दिँदै पाठकलाई हटाइएको पुष्टि गरेका छन्। उनका अनुसार सभामुखले आफैँ निर्णय गरेर हटाउने नभई संसदीय दलको निर्णयबारे जानकारी प्राप्त भएको हो।

सुदूरपश्चिम प्रदेशसभामा आइतबार प्रस्तुत भएको बजेट मंगलबार पारित गर्ने कार्यसूची थियो। एमाले संसदीय दलले आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन, बजेटको पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्वीप जारी गरेको थियो। तर, पाठक र पूर्वमन्त्री वीरबहादुर थापा बैठकमा अनुपस्थित भएपछि पार्टीले उनीहरूसँग ४८ घण्टे स्पष्टीकरण मागेको थियो।

बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने एमाले संसदीय दलको बैठकमा समेत पाठक अनुपस्थित रहेको बताइएको छ। ह्वीप उल्लङ्घन गरेको विषयलाई लिएर पार्टीले दुवै सांसदसँग स्पष्टीकरण मागेको हो।

मंगलबार विवादका बीच बजेट पारित भएपछि सांसद थापाले प्रदेशसभा बैठक बहिष्कार गर्नुका साथै प्रदेशसभा सदस्य पदबाट राजीनामासमेत दिएका छन्। एमालेले स्पष्टीकरण पत्रमार्फत थापालाई राजीनामा फिर्ता लिन आह्वान गरेको छ।

सभामुख भण्डारीका अनुसार थापाले दिएको राजीनामाबारे भने अध्ययन भइरहेको छ। बजेटलाई लिएर एमालेभित्र देखिएको असन्तुष्टि र त्यसपछि चालिएका कदमले सुदूरपश्चिम प्रदेशको राजनीतिक वृत्तमा थप चर्चा उत्पन्न गरेको छ।