दसैँ–तिहारमा भारतबाट फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण, असोजमा ४ हजार ७०० जनाको जाँच

Image
Nisarga Hospital

कञ्चनपुर: दसैँ–तिहार मनाउन भारतबाट स्वदेश फर्किने नेपाली यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप बढ्ने र विभिन्न सङ्क्रामक रोग भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै हेल्थ डेस्कमार्फत परीक्षण थालिएको हो।

CP Hospital Dhangadhi

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार नाकामा मलेरिया, क्षयरोग (टीबी), एचआईभी, कोभिड–१९, डेङ्गु र स्क्रब टाइफसलगायत छ प्रकारका रोगको परीक्षण भइरहेको छ। भारतबाट फर्किने यात्रुमा रोगको पहिचान गरी समयमै उपचार गर्ने र सङ्क्रमण फैलिन नदिने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिए।

उनका अनुसार सङ्क्रमण देखिएका व्यक्तिलाई अस्पतालमा ल्याएर निःशुल्क उपचार गरिन्छ। टाढाका जिल्लाका नागरिकका लागि सम्बन्धित अस्पतालसँग समन्वय गरी उपचारको व्यवस्था मिलाइन्छ। विशेषगरी सङ्क्रामक रोगको जोखिम भएका क्षेत्रबाट आएका र ज्वरोका लक्षण देखिएका यात्रुको परीक्षणमा प्राथमिकता दिइएको छ।

nawajiwan
pk & Lotus

स्वास्थ्य कार्यालयका अनुसार असोज महिनामा मात्रै गड्डाचौकी नाकामा चार हजार ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा हालसम्म दुई जनामा क्षयरोग पुष्टि भएको छ भने अन्यमा सङ्क्रमण देखिएको छैन।

प्रहरीको तथ्याङ्कअनुसार गड्डाचौकी नाका हुँदै दैनिक करिब दुई हजार नेपाली स्वदेश फर्किरहेका छन्। यात्रुको सहजता र सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निगरानीसमेत बढाइएको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताए।

Dhnagadhi & Krishanapur