
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा प्रवेश गरेबापत कुनै शुल्क तिर्नु नपर्ने मेयर गोपाल हमालले स्पष्ट पारेका छन्। धनगढी प्रवेश गर्दा शुल्क तिर्नुपरेको दाबीसहितको भिडियो सार्वजनिक भएपछि उनले त्यसको खण्डन गर्दै प्रवेश शुल्क उठाउने अधिकार उपमहानगरपालिकासँग नरहेको बताएका हुन्।
मेयर हमालले भिडियो सन्देश जारी गर्दै धनगढी प्रवेश गर्ने व्यक्तिबाट शुल्क उठाउनु गैरकानुनी हुने बताएका छन्। उनले कसैले जबर्जस्ती प्रवेश शुल्क उठाएको भेटिए प्रहरीलाई खबर गर्न आग्रह गरेका छन्।

‘हामी आफ्नो क्षेत्राधिकारमा सचेत छौँ, हामीलाई प्रवेश शुल्क उठाउने अधिकार पनि छैन,’ हमालले भनेका छन्, ‘त्यस्तो कसैले उठाएको छ भने प्रहरीलाई बुझाउन अनुरोध छ। हामीले त आएको मान्छेलाई स्वागत गर्ने हो, कर लिने होइन।’
धनगढी प्रवेश गर्दा शुल्क तिर्नुपर्ने भन्दै सार्वजनिक भएको भिडियोले सर्वसाधारणमा भ्रम सिर्जना गरेको उनको भनाइ छ। यस्ता गतिविधि जहाँसुकै भए पनि निरुत्साहित गर्नुपर्ने उनले बताएका छन्।


आफ्नो नाम जोडेर विषय सार्वजनिक गरिएकोप्रति पनि हमालले आपत्ति जनाएका छन्। कसैले प्रवेश शुल्क उठाएको पाइए उपमहानगरपालिका वा नगर प्रहरीलाई जानकारी गराई कानुनी प्रक्रिया अघि बढाउन सहयोग गर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।


































