‘प्रहरी अधिकार नहुँदा प्रदेश सरकार अपाङ्गसरह’ : मुख्यमन्त्री भट्ट, सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्था सम्मानित

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रहरीसम्बन्धी अधिकार प्रदेश सरकारलाई हस्तान्तरण नहुँदा शान्तिसुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न कठिनाइ भइरहेको बताएका छन्। संविधानले प्रदेश सरकारलाई प्रदान गरेका अधिकार कार्यान्वयन गर्दै प्रहरीसम्बन्धी अधिकारसमेत प्रदेश तहमा हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा आयोजित ७१औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रहरीसम्बन्धी अधिकारविहीन प्रदेश सरकारको अवस्थालाई अपाङ्गसरह भएको टिप्पणी गरे। “प्रहरीसम्बन्धी अधिकार नभएकाले प्रदेश सरकार अपाङ्गसरह भएको छ। संविधानले दिएको अधिकार कार्यान्वयन हुनुपर्छ,” उनले भने।

प्रदेशको शान्तिसुरक्षा, अपराध नियन्त्रण र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले प्रहरीसम्बन्धी अधिकार प्रदेश सरकारलाई प्राप्त भए सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने बताए। प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै व्यावसायिक, दक्ष र प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ थियो।

nawajiwan
pk & Lotus

मुख्यमन्त्री भट्टले कञ्चनपुरकी निर्मला पन्तको हत्या घटनाले अझै निष्कर्ष पाउन नसक्नु दुःखद भएको बताए। प्रहरी दक्ष हुँदाहुँदै पनि घटनाका दोषी पत्ता लाग्न नसक्नु गम्भीर विषय भएको उल्लेख गर्दै उनले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए। यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रदेश सरकार प्रहरीसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

पछिल्लो समय साइबर अपराध, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी तथा डिजिटल माध्यमबाट हुने अपराध बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री भट्टले लागूऔषध दुरुपयोगले युवाको भविष्यसमेत जोखिममा पारिरहेको बताए। खुला सीमाका कारण हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणमा पनि प्रहरीले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम थारूले कानुनी राज्यको अनुभूति गराउने, दण्डहीनता अन्त्य गर्ने र सुशासन कायम गर्ने कार्यमा नेपाल प्रहरीले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले प्रहरी कर्मचारीको त्याग, समर्पण र बलिदानले संगठनलाई थप मजबुत बनाएको बताए। नागरिकको सुरक्षा, अपराध नियन्त्रण र कानुन कार्यान्वयनलाई प्राथमिकतामा राख्दै प्रहरीलाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउने प्रयास भइरहेको उनले जानकारी दिए। तीनै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरणमा प्रहरी सक्रिय रहने उनको भनाइ थियो।

कार्यक्रममा कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र शाहीले लागूऔषध, साइबर अपराध र अनलाइन ठगी नियन्त्रणमा नागरिकको साथ, सहयोग र सूचनासमेत उत्तिकै आवश्यक रहेको बताए। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देशसमेत वाचन गरिएको कार्यक्रममा पूर्वप्रहरी प्रतिनिधि नैनबहादुर साउदले संगठनका असल अभ्यासलाई निरन्तरता दिँदै कानुन कार्यान्वयनमा थप प्रभावकारी हुनुपर्नेमा जोड दिए।

सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्था सम्मानित

७१औँ प्रहरी दिवसका अवसरमा सामाजिक सेवा, सहयोग तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ। सम्मानित हुनेमा दृष्टि फाउन्डेसनकी प्रमुख कल्पना भट्ट, मानव सेवा आश्रमका लोकेन्द्र शाह, निसर्ग अस्पतालका अध्यक्ष तीर्थ पन्त, माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउद, एसटीएस इन्टरप्राइजेजका राजकुमार श्रेष्ठ, सहारा घरका सञ्चालक बलबहादुर बिष्ट र नेपाल प्रहरी धनगढी स्कुलका शिक्षक कमलराज भट्ट रहेका छन्।

त्यसैगरी, कार्यसम्पादनका आधारमा जिल्ला प्रहरी कार्यालय बाजुरा पहिलो भएको भन्दै प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहरालाई सम्मान गरिएको थियो।

प्रहरी दिवसले नागरिकको सुरक्षा, अपराध नियन्त्रण र कानुन कार्यान्वयनमा प्रहरीको योगदानको स्मरण गराउनुका साथै बदलिँदो सुरक्षा चुनौती सामना गर्न सरकार, प्रहरी संगठन र नागरिकबीच समन्वय तथा सहकार्य थप सुदृढ बनाउनुपर्ने सन्देश दिएको छ।

Dhnagadhi & Krishanapur