
अत्तरिया: नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले आर्थिक अवस्था कमजोर भएका गोदावरी नगरपालिका–१ का तीन परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र नगद सहयोग गरेको छ।

शुक्रबार ‘जसको कोही छैन, त्यसको नेपाली कांग्रेस’ भन्ने मूल नारासहित हिन्दू धर्मावलम्बीहरूको महान् पर्व विजया दशमी तथा दीपावलीलाई लक्षित गरी करिब ५० हजार रुपैयाँ बराबरको सहयोग सामग्री वितरण गरिएको हो।
नेपाली कांग्रेस गोदावरीका नगरसभापति रविन्द्र शाही (गुड्डु) ले चाडपर्वका बेला आर्थिक अभावका कारण कसैले पनि खिन्नता महसुस गर्न नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए। उनले कांग्रेसले उक्त नारालाई आत्मसात् गर्दै यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको उल्लेख गरे।



अभियानकर्ता योगेश भट्टले वडा सदस्य गम्भीर साउँदको विशेष पहलमा वडाभित्रका विपन्न परिवारलाई सहयोग गरिएको जानकारी दिए। उनले आगामी दिनमा पनि गोदावरी कांग्रेस सामाजिक सेवाका कार्यमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।
सहयोग सामग्री वितरण कार्यक्रममा नगरसभापति शाही, नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का पूर्वसचिव जयराज फुलारा, अभियानकर्ता योगेश भट्ट, कांग्रेसका युवा नेता पदम ओझा र नारायण रावललगायतको सहभागिता रहेको थियो।

































