
कञ्चनपुरः बडादसैँ, तिहार र छठ पर्वलाई मर्यादित, सुरक्षित तथा व्यवस्थित रूपमा मनाउन कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले नागरिकलाई आग्रह गरेको छ। चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने तथा गुणस्तरहीन र म्याद गुज्रिएका वस्तु बिक्रीवितरण नगर्न प्रशासनले सचेत गराएको हो।

बिहीबार साँझ प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले विशेष अनुरोधसहित सूचना जारी गर्दै नागरिक, सरोकारवाला निकाय, कार्यालय तथा सङ्घसंस्थालाई आफ्नो जिम्मेवारी पूरा गरी समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न आग्रह गरेका छन्।
प्रशासनले चाडपर्वका नाममा आतिसबाजी, भुइँचम्पा, पटाका, बारुदलगायत विस्फोटक तथा आगलागी हुन सक्ने वस्तुको खरिद, बिक्री, ओसारपसार र प्रयोग नगर्न अनुरोध गरेको छ। त्यस्तै जुवातास, कौडा, चिठ्ठा तथा सट्टेबाजीजस्ता गैरकानुनी गतिविधि नगर्न र सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न पनि आग्रह गरिएको छ।


अनलाइन सपिङ, गैरकानुनी चिठ्ठा तथा सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिले दिने प्रलोभनपूर्ण अफर र सम्भावित ठगीबाट सतर्क रहन प्रशासनले नागरिकलाई सचेत गराएको छ। सबै धर्म, जातजाति र संस्कृतिको सम्मान गर्दै तडकभडक तथा अवाञ्छित गतिविधिबाट टाढा रही आपसी सद्भाव, भाइचारा, सहयोग र मेलमिलापका साथ चाडपर्व मनाउनसमेत आग्रह गरिएको छ।
यसैगरी, चाडपर्वका समयमा अस्पताल, एम्बुलेन्स, दमकल, स्काभेटर, आवश्यक जनशक्ति तथा इन्धनलगायत अत्यावश्यक सेवा तयारी अवस्थामा राख्न र मौसम परिवर्तनबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ महेन्द्रनगर बजारका मासु पसलमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अस्वस्थकर मासु बरामद गरी जफत गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिएका छन्।


































