
धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। पहिलो र दोस्रो सिजन टोलीको प्रशिक्षक रहेका जगत टमाटाको स्थान मिसबाहले लिने भएका हुन्।

पाकिस्तानका अनुभवी ब्याटर मिसबाहले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा तीनवटै प्रारूपमा देशको प्रतिनिधित्व गरेका छन्। उनले पाकिस्तानका लागि ७५ टेस्ट, १६२ एकदिवसीय अन्तर्राष्ट्रिय र ३९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
टेस्ट क्रिकेटमा ५ हजार २२२ रन बनाएका उनले १० शतक र ३९ अर्धशतक प्रहार गरेका छन्। टेस्टमा उनको उच्च स्कोर १६१ रन हो। त्यस्तै, एकदिवसीय अन्तर्राष्ट्रियमा ५ हजार १२२ र टी–२० अन्तर्राष्ट्रियमा ७८८ रन बनाएका छन्।



खेलाडीका रूपमा मात्र नभई कप्तानका रूपमा पनि मिसबाहको उपलब्धि उल्लेखनीय छ। उनको नेतृत्वमा पाकिस्तानले ५६ टेस्टमध्ये २६ खेल जितेको थियो। सन् २०१६ मा उनको कप्तानीमा पाकिस्तान पहिलोपटक आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा पुगेको थियो।
सन् २०१५ को एकदिवसीय विश्वकपपछि सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका मिसबाहले सन् २०१७ मा टेस्ट क्रिकेटबाट पनि बिदा लिएका थिए। त्यसपछि प्रशिक्षकको भूमिका सम्हालेका उनी सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानको राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ता रहेका थिए।
सुदूरपश्चिम रोयल्सको प्रशिक्षक नियुक्त भएपछि मिसबाहले नेपाल आउन पाउँदा उत्साहित रहेको बताएका छन्। उनले नेपाली क्रिकेट समर्थकको उत्साहबारे आफूले सुनेको उल्लेख गर्दै सुदूरपश्चिमको प्रशिक्षकका रूपमा नेपाल आउन पाउँदा खुसी लागेको बताएका छन्।
एनपीएलका पहिलो र दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले लिग चरणमा शीर्ष स्थान हासिल गर्दै फाइनलसम्मको यात्रा गरेको थियो। तर, दुवै सिजन उपाधि जित्न असफल भएको टोलीले तेस्रो सिजनमा मिसबाहको प्रशिक्षणमा उपाधि जित्ने लक्ष्य राख्नेछ।

































