
डोटी: सामाजिक अभियन्ता तथा दिदीबहिनी सेवा फाउन्डेसनकी अध्यक्ष लक्ष्मी कुमारी बोगटीको पहलमा डोटीका ३३ जना एकल तथा ज्येष्ठ आमालाई खाद्यान्न, न्यानो लुगा, स्विटर र सारी वितरण गरिएको छ।

दसैँ–तिहारलाई लक्षित गर्दै आर्थिक अवस्था कमजोर भएका तथा दैनिक छाक टार्नसमेत कठिनाइ भोगिरहेका आमाहरूलाई राहत पुर्याउने उद्देश्यले सहयोग वितरण गरिएको हो। चाडपर्वका बेला खाद्यान्न अभाव झेलिरहेका परिवारलाई राहत मिलोस् र कम्तीमा एक महिनासम्म सहज रूपमा भोजन गर्न सकून् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको अध्यक्ष बोगटीले बताउनुभयो।
विभिन्न सहयोगदाता तथा फाउन्डेसनको सहकार्यमा दुर्गम पहाडी क्षेत्रमा सञ्चालन गरिएको यो सातौँ चरणको सेवा अभियान हो। अभियानमार्फत विभिन्न विद्यालयका बालबालिका तथा एकल र ज्येष्ठ आमासहित हालसम्म ६ सयदेखि ७ सय जनासम्मलाई सहयोग गरिएको जनाइएको छ।



अभियानमा आई हेल्प फाउन्डेसन क्यानडा, बेद मोहन फाउन्डेसन, दिदीबहिनी सेवा फाउन्डेसनकी संस्थापक माला महतको टोली तथा अमेरिकाबाट कमला न्यौपाने, इन्दिरा खड्का कार्की, रोमिला श्रेष्ठ, निरु थापा र रूपा कुँवर क्षेत्रीले सहयोग गर्नुभएको छ। रूपा कुँवर क्षेत्रीले आफ्ना आमाबुवाको नाममा सहयोग गर्नुभएको जनाइएको छ।
दुर्गम क्षेत्रमा पुगेर विपन्न तथा असहाय नागरिकलाई सहयोग गर्ने सम्पूर्ण दाताप्रति अध्यक्ष बोगटीले आभार व्यक्त गर्नुभयो। ‘सेवा नै धर्म हो, सेवा नै कर्म हो’ भन्ने भावनासहित सञ्चालन गरिएको अभियानले चाडपर्वका बेला विपन्न परिवारलाई राहत पुर्याउनुका साथै सामाजिक सेवामा मानवीयता, सहकार्य र सहयोगको महत्त्वलाई उजागर गरेको छ।


































