
कैलालीको अत्तरियामा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

संघका अध्यक्ष कमल कडायतको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व अर्थ राज्यमन्त्री प्रकाशबहादुर बम प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बमले चाडपर्वले आपसी सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै सामाजिक सद्भाव र एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले चाडपर्वलाई आपसी प्रेम, भाइचारा र सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।



त्यस्तै, संघका अध्यक्ष कडायतले उद्योगी व्यवसायीहरूको हकहित संरक्षण तथा व्यवसाय प्रवर्द्धनका लागि अत्तरिया उद्योग वाणिज्य संघ सधैँ तत्पर रहेको बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले दसैँ, तिहार तथा छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए।

































