गड्डाचौकी नाकामा तालिमप्राप्त दुई कुकुर परिचालन, लागुऔषध र विस्फोटक पदार्थको निगरानी गरिने

Image
Nisarga Hospital

कञ्चनपुरः भारतसँग सीमा जोडिएको पश्चिमी नाका गड्डाचौकीमा लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले तालिमप्राप्त दुई कुकुर परिचालन गरेको छ। दसैँ पर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरीले अल्फा र डेल्टा नामका कुकुरलाई नाकामा खटाएको हो।
सशस्त्र प्रहरीका अनुसार दुवै कुकुरलाई गड्डाचौकीस्थित सीमा सुरक्षा बल गुल्ममा राखेर नियमित रूपमा सीमा क्षेत्रमा निगरानी तथा सुरक्षा जाँचमा परिचालन गरिनेछ। आवश्यकता र जोखिमको अवस्थाअनुसार उनीहरूलाई सीमा क्षेत्रमा खटाइने जनाइएको छ।

CP Hospital Dhangadhi

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर (शैलेश्वरी) का सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार अल्फाले लागुऔषध पत्ता लगाउनेछ भने डेल्टाले हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्नेछ। तालिमप्राप्त कुकुरको सहायताले शंकास्पद वस्तु तथा पदार्थ पहिचान गर्न र सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कञ्चनपुरमा लागुऔषधको समस्या जटिल बन्दै गएको अवस्थामा कुकुर परिचालनले यसको नियन्त्रणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकाबाट दैनिक ठूलो सङ्ख्यामा मानिसको आवतजावत हुने भएकाले अवैध वस्तुको ओसारपसार रोक्नु सुरक्षा निकायका लागि चुनौतीपूर्ण रहँदै आएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको आवश्यकता रहेको बताए। मानिसले सहजै पहिचान गर्न नसक्ने शंकास्पद वस्तु तथा पदार्थ कुकुरले पत्ता लगाउन सक्ने भएकाले यसको परिचालन प्रभावकारी हुने उनको भनाइ छ।
‘सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको आवश्यकता थियो। मानिसले पत्ता लगाउन नसकेका कतिपय वस्तु कुकुरले पत्ता लगाउन सक्छ। यो एकदमै राम्रो कामको सुरुवात भएको छ,’ कोइरालाले भने।

दसैँका बेला सीमा क्षेत्रमा आवतजावत बढ्ने भएकाले सुरक्षा निगरानीलाई थप सुदृढ बनाउन कुकुर परिचालन गरिएको हो। यसबाट लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्नुका साथै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur