
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नगर प्रमुख (मेयर) पदको उम्मेदवार बन्न दीपक ओझाले आवेदन दिएका छन्। आगामी स्थानीय तह निर्वाचनमा नगरको नेतृत्व गर्ने आकाङ्क्षासहित उनले बुधबार दसैँको शुभसाइत पारेर पार्टीको ‘क्यान्डिडेट क्लब’मा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

सामाजिक सेवा, उद्यमशीलता तथा राजनीतिक गतिविधिमा सक्रिय ओझा लामो समयदेखि व्यवसाय, सहकारी र सामुदायिक विकासका क्षेत्रमा संलग्न छन्। उनी थ्रीडिभिएल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा सहसंस्थापक हुन्। करिब चार वर्षदेखि सहकारी क्षेत्रमा नेतृत्व गर्दै आएका उनले संस्थाको पुँजी वृद्धि, लगानी व्यवस्थापन, सदस्य सहभागिता र संस्थागत विकासमा काम गर्दै आएका छन्।
त्यस्तै, ओझा थ्रीडिभिएल क्रियसनका संस्थापक तथा क्रिएटिभ डाइरेक्टरसमेत हुन्। करिब सात वर्षदेखि उद्यमशीलता र रोजगारी सिर्जनामा सक्रिय उनले उत्पादन तथा दुग्ध व्यवसायलगायत क्षेत्रमा लगानी गरेका छन्। कोभिड–१९ महामारीका समयमा पनि उनी सामाजिक सहयोगका गतिविधिमा सहभागी भएका थिए।




राजनीतिक रूपमा सक्रिय ओझा गोदावरीमा रास्वपाका संस्थापक नगर सभापतिसमेत हुन्। २०८० वैशाखमा सम्पन्न पार्टीको नगर सम्मेलनबाट उनी सर्वसम्मत सभापतिमा चयन भएका थिए। उनले पार्टी संगठन निर्माण, जनपरिचालन तथा चुनावी अभियान व्यवस्थापनमा काम गरेको अनुभव रहेको बताएका छन्। प्रतिनिधिसभा निर्वाचनमा खेमराज कोइरालाको चुनावी अभियान व्यवस्थापकका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरेका थिए।
सामाजिक न्याय, सुशासन, युवा सशक्तीकरण, सार्वजनिक सेवा र समावेशी विकासलाई प्राथमिकतामा राखेका ओझाले उद्यमशीलता र सामाजिक उत्तरदायित्वलाई नगर विकाससँग जोड्ने धारणा राख्दै आएका छन्।
दुर्गालक्ष्मी माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा पूरा गरेका उनले सुदूरपश्चिम विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका छन्। हाल उनी सोही विश्वविद्यालयमा व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत छन्।


































