
धनगढी: सूचनाको हकका लागि राष्ट्रिय महासंघले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको जिल्ला अधिवेशन कार्तिक मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। शुक्रबार धनगढीमा बसेको सूचनाको हकका अभियन्ताहरूको भेलाले जिल्ला अधिवेशन कार्तिक मसान्तभित्र र प्रदेश अधिवेशन मंसिर १५ गते गर्ने निर्णय गरेको हो।

महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सूचनाको हकको प्रभावकारी कार्यान्वयन, नागरिकको सूचनामा पहुँच विस्तार तथा सार्वजनिक निकायलाई थप जवाफदेही बनाउन अभियानलाई तीव्रता दिने निर्णयसमेत गरेको छ।
भेलाले स्थानीय तह तथा प्रदेश सरकारअन्तर्गतका मन्त्रालयले सञ्चालन गरिरहेका विकास निर्माणका गतिविधि, योजनाको कार्यान्वयन अवस्था र जनचासोका विषयमा सूचना माग गर्ने निर्णय गरेको छ। सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी बनाउँदै नागरिकको सूचनाको हक सुनिश्चित गर्न अभियान सञ्चालन गरिने जनाइएको छ।




भेलालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष बागचन्दले सूचनाको हक सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने महत्त्वपूर्ण माध्यम भएको बताए। उनले सार्वजनिक निकायका कामकारबाहीबारे नागरिकलाई सुसूचित गराउन तथा सम्भावित अनियमितता र बेथितिको निगरानी गर्न सूचनाको हकका अभियन्ताहरू सक्रिय हुनुपर्नेमा जोड दिए।
महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न भेलाको सहजीकरण प्रदेश महासचिव निराजन परियारले गरेका थिए।



































