पदक जित्ने खेलाडी, तर पूर्वाधारको अभावमा सुदूरपश्चिमको खेलकुद; साढे १५ वर्षदेखि अधुरै धनगढी रंगशाला

Image
Nisarga Hospital

धनगढी । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रदेश र देशको नाम चिनाइरहेका छन्। विभिन्न खेलमा पदक जितेर आफ्नो प्रतिभा प्रमाणित गरिरहेका खेलाडीले भने अभ्यास र प्रतियोगिताका लागि आवश्यक पूर्वाधारको अभाव झेल्नुपरेको छ। प्रदेशकै प्रमुख खेलकुद केन्द्रका रूपमा रहेको धनगढी रंगशाला वर्षौं बितिसक्दा पनि पूर्णता पाउन नसक्दा सुदूरपश्चिमको खेलकुद विकासमाथि प्रश्न उठेको छ।

CP Hospital Dhangadhi

गुरुयोजनाअनुसार निर्माण हुनुपर्ने संरचना अधुरै छन्। पर्याप्त बजेट र सरकारी प्राथमिकताको अभावमा रंगशालाले अपेक्षित स्वरूप लिन नसकेको खेल क्षेत्रका सरोकारवालाहरूको गुनासो छ। निर्माण भएका संरचनाको मर्मतसम्भारसमेत प्रभावकारी नहुँदा खेलाडीले नियमित अभ्यासदेखि प्रतियोगिता आयोजनासम्म कठिनाइ भोगिरहेका छन्।

१६ प्यारापिट ब्लकको योजना, बने सातवटा मात्रै

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

धनगढी रंगशालाको गुरुयोजनाअनुसार भिआइपी र सामान्य गरी १६ वटा प्यारापिट ब्लक निर्माण गर्नुपर्ने हो। तर, हालसम्म सातवटा मात्रै निर्माण भएका छन्। तीमध्ये पाँचवटा प्यारापिटमा प्लास्टर तथा रङरोगनको कामसमेत बाँकी छ।

भिआइपीतर्फ तीनवटा प्यारापिट निर्माण गर्ने योजना रहे पनि एउटा मात्रै बनेको छ। त्यस्तै, सामान्यतर्फ १३ वटा निर्माण गर्नुपर्नेमा पाँचवटा मात्रै बनेका छन्। आवश्यक संरचना पूरा नहुँदा रंगशालाले पूर्ण स्वरूप लिन सकेको छैन।

खेलाडी उत्पादन र खेलकुदको सम्भावना प्रशस्त रहेको सुदूरपश्चिममा पूर्वाधार निर्माणले गति लिन नसकेकोप्रति खेल क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूका अनुसार खेलाडीको प्रतिभा निखार्न नियमित अभ्यास, व्यवस्थित मैदान, दर्शकका लागि उपयुक्त प्यारापिट र आवश्यक सहायक संरचना अपरिहार्य छन्।

साढे १५ वर्षअघि बनेका संरचनासमेत जीर्ण

२०६८ सालमा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएपछि धनगढी रंगशालामा तीन करोड रुपैयाँको लागतमा दुईवटा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्र्याकलगायतका संरचना निर्माण गरिएका थिए। त्यसबेला निर्माण गरिएका पूर्वाधारले सुदूरपश्चिमको खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको थियो। तर, गुरुयोजनाअनुसार थप संरचना निर्माण गर्ने कामले निरन्तरता पाउन सकेन।

साढे १५ वर्ष बितिसक्दा पनि रंगशाला पूर्ण नहुँदा पुराना संरचनासमेत जीर्ण बन्दै गएका छन्। एथलेटिक्सका लागि बनाइएको ट्र्याक ठाउँठाउँमा भत्किएको छ। फुटबल मैदानको उचित संरक्षण नहुँदा प्रतियोगिता सञ्चालन गर्नुअघि मर्मत गर्नुपर्ने अवस्था छ। नियमित मर्मतसम्भारको अभावले खेलाडीको अभ्यास र प्रतियोगिता सञ्चालनमा समेत असर परेको छ।

रंगशालाभित्रको बहुउद्देश्यीय हलको अवस्था पनि सन्तोषजनक छैन। निर्माणाधीन अर्को हलमा प्लास्टर गर्ने, भित्र प्यारापिट निर्माण गर्ने तथा झ्यालढोका जडान गर्नेलगायतका काम पूरा हुन सकेका छैनन्। हल निर्माण सम्पन्न भए विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुने भए पनि अधुरो संरचनाको उपयोग हुन सकेको छैन।

खेलाडीको क्षमता छ, पूर्वाधारमा लगानीको अभाव

सुदूरपश्चिम कराते महासंघका अध्यक्ष त्रेलोक्यनाथ पाण्डेय राज्यले खेलकुद क्षेत्रमा पर्याप्त लगानी नगरेको बताउँछन्। उनका अनुसार सुदूरपश्चिम खेलाडी उत्पादन गर्ने महत्त्वपूर्ण क्षेत्र हो। यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै पदकसमेत जित्दै आएका छन्। तर, उनीहरूको क्षमता विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा राज्यले प्राथमिकता दिन नसकेको उनको गुनासो छ।

पाण्डेयका अनुसार सुदूरपश्चिमका खेलाडीले देशका लागि पदक जितिरहँदा पनि प्रदेशमा एउटा सुविधासम्पन्न रंगशाला निर्माण हुन नसक्नु विडम्बना हो। धनगढी रंगशालाको अधुरो अवस्था र प्रस्तावित फाप्ला क्रिकेट रंगशाला निर्माणमा देखिएको अन्योलले खेलकुद पूर्वाधार विकासमा सरकारी प्राथमिकतामाथि प्रश्न उठाएको उनी बताउँछन्।

उनका भनाइमा खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नुपर्ने तर अभ्यास र प्रतियोगिताका लागि आवश्यक सुविधा नपाउने अवस्था अन्त्य हुनुपर्छ। खेलाडीको प्रतिभालाई थप निखार्न र उनीहरूको प्रदर्शनलाई निरन्तरता दिन आधुनिक पूर्वाधार आवश्यक छ।

बजेट अभावले स्तरोन्नति प्रभावित

खेल क्षेत्रका सरोकारवालाहरूका अनुसार पछिल्ला केही वर्षयता धनगढी रंगशालाको स्तरोन्नतिका लागि पर्याप्त बजेट विनियोजन हुन सकेको छैन। बजेट अभावमा निर्माणाधीन संरचना पूरा गर्न र पुराना पूर्वाधारको मर्मतसम्भार गर्न कठिनाइ भइरहेको छ।

खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काले धनगढी रंगशालाको स्तरोन्नतिका लागि यसपटक प्रदेश सरकारसँग आवश्यक बजेट माग गरिएको बताएका छन्। रंगशालाको पूर्वाधार विकासका लागि बजेट आवश्यक रहेको उनको भनाइ छ।

धनगढी रंगशालाको अधुरो अवस्था र फाप्ला क्रिकेट रंगशाला निर्माणमा देखिएको अन्योलले सुदूरपश्चिमको खेलकुद विकासमा दीर्घकालीन योजनासहित लगानी गर्नुपर्ने आवश्यकता देखाएको छ। खेलाडीले पदक जितेर प्रदेशको गौरव बढाइरहँदा उनीहरूलाई अभ्यास र प्रतियोगिताका लागि उपयुक्त वातावरण उपलब्ध गराउनु पनि राज्यको दायित्व हो।

वर्षौंदेखि अधुरो रहेको धनगढी रंगशालाको निर्माण पूरा गर्ने, जीर्ण संरचनाको मर्मत गर्ने र आवश्यक आधुनिक पूर्वाधार थप्ने कामलाई प्राथमिकता दिन सके मात्रै सुदूरपश्चिमको खेलकुदले अपेक्षित गति लिन सक्नेछ। खेलाडीको प्रतिभा र सम्भावनालाई परिणाममा बदल्न अब पूर्वाधार विकासमा ठोस लगानी र निरन्तरता आवश्यक देखिएको छ।

Dhnagadhi & Krishanapur