
धनगढी: नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीहरूलाई नैतिकताका आधारमा राजीनामा दिएर सरकारबाट बाहिरिन आग्रह गरेको छ। बजेटजस्तो संवेदनशील विषयमा सरकारले गैरजिम्मेवार व्यवहार गरेको निष्कर्ष निकाल्दै कांग्रेसले सभामुख भीमबहादुर भण्डारीको भूमिकामाथि समेत प्रश्न उठाएको छ।

सोमबार पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी विवादबारे समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो। असोज २५ गते प्रदेशसभामा प्रस्तुत गरिएको बजेटमाथि छलफल नै नगरी सरकारले त्यसलाई सच्याउने निर्णय गरेको कांग्रेसको आरोप छ।
कांग्रेसका अनुसार असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा र आफ्नै सांसदहरूलाई समेत अन्योलमा पार्ने काम गरेको थियो। अर्थमन्त्री चक्रबहादुर मल्लले सदनमा बजेटसम्बन्धी त्रुटि स्वीकार गरिसकेको अवस्थामा पुनः त्यही बजेट पारित गर्ने प्रक्रिया अघि बढाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। यसलाई कांग्रेसले संसदीय अभ्यास र कानुनी प्रक्रियाविपरीत भएको दाबी गरेको छ।




बैठकले सभामुख भण्डारीको भूमिकामाथि पनि प्रश्न उठाएको छ। प्रतिपक्षी सांसदहरू उपस्थित नरहेको अवस्थामा सदन सञ्चालन गरिएको, बजेटसम्बन्धी विषयमा प्रतिपक्षसँग छलफल र संवाद नगरिएको तथा सांसदहरूको मागबिना संसदीय समिति गठन गरिएको कांग्रेसको आरोप छ।
बजेट पारित गर्ने प्रक्रियामा सभामुखले पदीय मर्यादा र संवैधानिक मूल्य–मान्यतालाई बेवास्ता गरेको कांग्रेसको ठहर छ। यिनै विषयलाई आधार बनाउँदै कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्टसहित सम्पूर्ण मन्त्रीहरूलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन आग्रह गरेको हो।



































