
अत्तरिया : सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने महाकाली राजमार्गअन्तर्गत गोदावरी–खानीडाँडा सडकको बुढीतोला खण्ड भासिएको तीन वर्षभन्दा बढी बितिसक्दा पनि पुनर्निर्माण पूरा हुन सकेको छैन। कैलालीको गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा भासिएको ५७० मिटर सडकमा पहिरो नियन्त्रणको काम सकिए पनि कालोपत्रे हुन बाँकी छ।

२०८० साउन २३ गते अविरल वर्षापछि गएको पहिरोले सडक भासिएको थियो। त्यसको करिब एक महिनापछि सामान्य मर्मत गरेर दुईतर्फी यातायात सञ्चालन गरिए पनि दीर्घकालीन समाधान नहुँदा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन्।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर पंकजसिंह धामीका अनुसार पटकपटक मर्मत गर्दा पनि सडक टिक्न नसक्ने देखिएपछि सडक विभागको अध्ययन टोलीले उक्त क्षेत्रको अध्ययन गरेको थियो। अध्ययनका क्रममा जमिनमुनि पानीको मुहान फेला परेपछि भूमिगत पानीको व्यवस्थापन गरेर मात्र सडक पुनर्निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।




सडक मर्मत तथा पहिरो नियन्त्रणका लागि सात करोड ३८ लाख ७० हजार रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो। जोखिम न्यूनीकरणका लागि पाँचवटा इनार निर्माण, भूमिगत पानी निकास गर्न सबसर्फेस ड्रेनेज र माथिबाट आउने पानीको निकासका लागि दुई सयवटा पाइप जडान गरिएको छ। सडक फराकिलो बनाउनुका साथै बायो–इन्जिनियरिङ प्रविधिसमेत अपनाइएको छ।
पहिरो नियन्त्रणको काम सम्पन्न भएपछि गत पुसमा बुढीतोला खण्डसहित गोदावरीको गाइमारेदेखि सहजपुरसम्मको २१ किलोमिटर सडक मर्मतका लागि ठेक्का सम्झौता भएको थियो। तर, निर्माण सामग्रीको मूल्यवृद्धिका कारण काम अघि बढ्न नसकेको इन्जिनियर धामीले बताए।
उनका अनुसार ठेकेदारसँगको प्रक्रिया मिले मंसिरसम्म काम सुरु हुन सक्नेछ। प्रक्रिया नमिले वैशाख–जेठसम्म कुर्नुपर्ने हुन सक्छ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाको आवागमन, व्यापार, पर्यटन र विकाससँग जोडिएको महत्त्वपूर्ण राजमार्गको अधिकांश भाग जीर्ण अवस्थामा छ। १३५ किलोमिटर लामो यस राजमार्गमध्ये ६९ किलोमिटर कैलाली तथा ३३–३३ किलोमिटर डोटी र डडेल्धुरामा पर्छ। २०२९ सालमा ट्र्याक खोलिएको राजमार्गमा २०४६ सालदेखि कालोपत्रे सुरु भई २०५२ सालमा सम्पन्न भएको थियो। त्यसयता पर्याप्त स्तरोन्नति र दीर्घकालीन मर्मत हुन नसक्दा विभिन्न खण्डमा समस्या दोहोरिँदै आएको छ।



































