
बझाङ : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको सुर्मादेवी (शिलदेवी) मेला बझाङमा सोमबारदेखि सुरु भएको छ। चैनपुरस्थित ठूला गडामा प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले मेलाको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा महरले शिलदेवी मेला बझाङको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसको मौलिकता र अस्तित्व संरक्षण गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताए। उनले मेलाले जिल्लावासीबीच आपसी सद्भाव, सामाजिक एकता र पारिवारिक भेटघाटको अवसर प्रदान गर्दै आएको बताए।
परापूर्वकालदेखि शिलदेवीको पूजा गर्ने तथा देश–विदेशमा रहेका बझाङवासी घर फर्किएर आफन्तसँग भेटघाट गर्ने परम्परा मेलासँग जोडिएको उनले उल्लेख गरे। मेलाको महत्त्व जोगाउँदै यसको प्रचारप्रसार र प्रवर्द्धनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। खेलकुदका गतिविधिले मेलामा थप उत्साह थप्ने भन्दै उनले सकारात्मक प्रतिस्पर्धालाई प्रोत्साहन गर्नुपर्ने बताए।




कार्यक्रममा संविधानसभा सदस्य अफिलाल ओखेडाले जिल्लामा भएका विकास प्रयास र उपलब्धिलाई बेवास्ता गर्न नहुने धारणा राखे। उनले खेलमैदान तथा कभर्डहल निर्माणका लागि पनि प्रयास भइरहेको जानकारी दिए।
मेलाको अवसरमा पालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता र देउडा कार्यक्रम आयोजना गरिएको छ। आयोजकका अनुसार मेलामा धार्मिक, सांस्कृतिक र खेलकुदसम्बन्धी विभिन्न गतिविधि सञ्चालन हुनेछन्।
राजा गजराजको पालादेखि सुरु भएको मानिने यस मेलालाई बझाङको ऐतिहासिक सम्पदाका रूपमा लिइन्छ। मेलाले स्थानीय कला र संस्कृतिको संरक्षण, सामाजिक सद्भाव, खेलकुदको विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सुर्मादेवी मेला व्यवस्थापन समितिका अध्यक्ष सर्जनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण विष्ट, जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल, छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष वसन्त चलाउनेलगायतको उपस्थिति थियो।



































