
कैलालीः कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा वृद्धालाई ठक्कर दिएर भागेको मोटरसाइकल ११ दिनसम्म पनि फेला नपरेपछि स्थानीयले बिहीबार चक्काजाम गर्ने घोषणा गरेका छन्।

कार्तिक १ गते खुटियामा सडक पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीया तारा देवी धामी गम्भीर घाइते भएकी थिइन्। उनको धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
स्थानीय प्रकाश धितालका अनुसार प्रहरीमा निवेदन दिँदा पनि फरार मोटरसाइकलबारे जानकारी प्राप्त भएको छैन। स्थानीयले दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै बिहीबार बिहान ९ बजेदेखि स्याउलेमा चक्काजाम गर्ने बताएका छन्।




घाइते धामीका छोरा रामबहादुर धामीका अनुसार आमाको कम्मर र टाउकोमा चोट लागेको छ भने खुट्टा भाँचिएको छ। केही दिनअघि मात्रै होस खुलेकी उनलाई लामो समय अस्पतालमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्।
गिट्टी कुटेर परिवार पाल्दै आएकी तारादेवीको उपचारमा आर्थिक समस्या भएको परिवारले जनाएको छ। उपचार उधारोमा भइरहेको भन्दै छोराले सहयोगको अपिलसमेत गरेका छन्। स्थानीयले घटनामा संलग्न मोटरसाइकल चालकको खोजी गरी कानुनी कारबाही गर्न माग गरेका छन्।



































