धनगढीमा ७५ युवालाई निःशुल्क आवासीय सीप तालिम, कात्तिक ३० गतेसम्म आवेदन दिन सकिने

Image
Nisarga Hospital

अत्तरियाः रोजगारी तथा स्वरोजगारमा जोडिन चाहने युवाहरूका लागि कैलालीको धनगढीमा तीनवटा विषयमा निःशुल्क आवासीय सीपमूलक तालिम सञ्चालन हुने भएको छ। धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनको सहकार्यमा सञ्चालित धनगढी भोकेशनल स्कुलले ७५ जना युवालाई तालिम दिने गरी आवेदन खुलाएको हो।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिकाको रोजगार प्रवर्द्धन शाखाले कात्तिक १० गते प्रकाशित गरेको सूचनाअनुसार सहायक प्लम्बर, बिल्डिङ इलेक्ट्रिसियन र सहायक वेल्डर विषयमा तालिम सञ्चालन हुनेछ। प्रत्येक विषयमा २५ जनाका दरले सहभागी छनोट गरिनेछ।

तालिममा सहभागी हुन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका बेरोजगार युवाले आवेदन दिन सक्नेछन्। तालिम पूरा गरेपछि सिकेको सीपसँग सम्बन्धित क्षेत्रमा काम गर्न इच्छुक हुनुपर्नेछ। सहभागी छनोटका लागि अन्तर्वार्ता लिइने व्यवस्था गरिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

तालिमको कुल अवधि चार महिना हुनेछ। पहिलो तीन महिना सीपमूलक प्रशिक्षण दिइनेछ भने थप एक महिना कार्यस्थलमा आधारित व्यावहारिक सिकाइ (ओजेटी) सञ्चालन हुनेछ। यसबाट सहभागीले सीप सिक्नुका साथै सम्बन्धित क्षेत्रमा व्यावहारिक अनुभव हासिल गर्ने अवसर पाउनेछन्।

इच्छुक युवाले २०८३ कात्तिक ३० गतेभित्र आवेदन दिनुपर्नेछ। तालिम आगामी मंसिर ६ गतेदेखि धनगढी उपमहानगरपालिका–१८, फूलबारीस्थित धनगढी भोकेशनल स्कुलमा सुरु हुनेछ।

आवेदन तथा आवश्यक कागजातसम्बन्धी जानकारीका लागि धनगढी उपमहानगरपालिकाको रोजगार सेवा केन्द्र वा धनगढी भोकेशनल स्कुलमा सम्पर्क गर्न सकिनेछ। थप जानकारीका लागि ०९१-५९१०१८, ०९१-५९०७२६, ९८१२७६०७६१ र ९८१५५७३६१२ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

प्लम्बिङ, भवनमा विद्युत् जडान र वेल्डिङजस्ता प्राविधिक सीप सिक्न चाहने युवाका लागि यो तालिम अवसर बन्न सक्छ। यद्यपि, तालिमपछि रोजगारीको ग्यारेन्टी वा भत्ताबारे प्रकाशित सूचनामा उल्लेख गरिएको छैन।

Dhnagadhi & Krishanapur