
थारू समुदायको पहिचान र कृषि संस्कृतिसँग जोडिएको धान थन्क्याउने परम्परागत विधि ‘खेन्हुवा र खढी’ पछिल्लो समय लोप हुँदै गएको छ। आधुनिक कृषि प्रविधिको प्रयोग बढ्दै जाँदा कुनै समय निकै लोकप्रिय रहेको यो चलन हराउँदै गएको हो।

विगतमा थारू समुदायका किसानले धान काटेपछि खेतमै सुकाएर मुठो पार्ने र ‘सैका’ बनाएर राख्ने गर्थे। त्यसपछि बयलगाडामा धान बोकेर घरनजिकै बनाइएको आँगनजस्तो निश्चित ठाउँमा थन्क्याइन्थ्यो। धान राख्न तयार पारिने त्यस्तो ठाउँलाई ‘खेन्हुवा’ भनिन्थ्यो भने त्यहाँ घरको आकारमा मिलाएर धानको थुप्रो बनाउने प्रक्रियालाई ‘खढी’ बनाएको भनिन्थ्यो।
धनगढी उपमहानगरपालिका–१६, भादाका लक्ष्मीनारायण चौधरीका अनुसार पहिले धान काट्नेबित्तिकै भित्र्याउने हतारो हुँदैनथ्यो। धान राम्ररी पाकेपछि मात्रै काट्ने र सुकेपछि मुठो पारेर खेतमा राख्ने गरिन्थ्यो। त्यसपछि बयलगाडामार्फत खेन्हुवामा पुर्याएर खढी बनाइन्थ्यो।




चौधरीका अनुसार त्यतिबेला कसले राम्रो खढी बनाउने भन्ने प्रतिस्पर्धासमेत हुने गर्थ्यो। काठको फ्ल्याक प्रयोग गरेर धानलाई मिलाएर व्यवस्थित रूपमा थुपार्ने चलन थियो। एउटै परिवारको खेन्हुवामा दुईदेखि चार वटासम्म खढी भएमा त्यसलाई सम्पन्नताको संकेतका रूपमा पनि लिने गरिन्थ्यो।
खेन्हुवामा थन्क्याइएको धान गोरु र राँगाको सहायताले दाइँ गरेर निकालिन्थ्यो। कात्तिकदेखि माघको अन्तिमसम्म धान दाइँ गर्ने र भित्र्याउने काम चल्ने गरेको चौधरी बताउँछन्। कैलालीको कैलारी गाउँपालिका–स्थित सिमराना गाउँमा विगतमा किसानले सामूहिक रूपमा खेन्हुवा बनाएर धान थन्क्याउने गरेको दृश्य जिल्लाकै नमुनाका रूपमा चिनिन्थ्यो।
तर, अहिले धान काटेको एक–दुई दिनमै थ्रेसिङ गर्ने र कम्बाइन हार्भेस्टरजस्ता आधुनिक मेसिनबाट धान भित्र्याउने क्रम बढेको छ। यससँगै खेन्हुवा र खढी बनाउने परम्परा हराउँदै गएको चौधरीको भनाइ छ। कृषि प्रविधिमा आएको परिवर्तनले समय र श्रम बचाए पनि थारू समुदायको मौलिक कृषि संस्कृति र परम्परागत ज्ञान भने क्रमशः ओझेलमा पर्दै गएको छ।



































