
धनगढी : कैलालीको धनगढीस्थित निसर्ग हस्पिटलमा नियमित निःशुल्क खोप सेवा सुरु गरिएको छ। अस्पतालले आजदेखि बालबालिकालाई लक्षित गरी नियमित खोप सेवा सञ्चालनमा ल्याएको हो।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमबीच उक्त सेवाको औपचारिक उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारी, नर्सिङ डाइरेक्टर मञ्जु केसी, नर्सिङ प्रशासक शिमा शर्मा, युनिसेफ तथा स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।




त्यसैगरी बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र, डा. दीपक पौडेल, डा. सुनिल तामाङलगायत अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।
अस्पतालका अनुसार अब प्रत्येक शनिबार नियमित रूपमा निःशुल्क खोप सेवा उपलब्ध हुनेछ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने उक्त सेवाबाट बालबालिकाले आवश्यक खोप निःशुल्क लगाउन सक्नेछन्।
बालबालिकालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्न तथा खोप सेवाको पहुँच सहज बनाउने उद्देश्यले नियमित खोप सेवा सुरु गरिएको हो। समयमै खोप लगाउँदा बालबालिकालाई विभिन्न रोगको जोखिमबाट जोगाउन र स्वस्थ भविष्य निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
अस्पतालले सम्पूर्ण अभिभावकलाई आफ्ना बालबालिकाको खोप तालिकाअनुसार समयमै खोप लगाउन आग्रह गरेको छ।




































