
बाजुराको प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल बडीमालिकामा भारी हिमपातका कारण फसेका एक जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ निवासी २१ वर्षीय सागर कार्की हुन्।

बडीमालिकाको दर्शन गरेर फर्किने क्रममा भारी हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा रोकिएका थिए। जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार उनलाई हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला सदरमुकाम मार्तडी पुर्याइएको छ। प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले उद्धार गरिएका युवकको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
यस्तै, कार्कीसँगै रहेका कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी निवासी २० वर्षीय मनिष बोहरा भने सम्पर्कविहीन भएका छन्। उनको खोजी तथा उद्धारका लागि सदरमुकामस्थित नेपाली सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ।




गत असोज ९ गते मार्तडीबाट मनिष र सागरसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो। टोलीका तीन जना यसअघि नै बडीमालिकाबाट फर्किसकेका छन्। बाँकी दुईमध्ये एक जनाको उद्धार भए पनि अर्काको अवस्था अझै अज्ञात छ।



































