
सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको नयाँ कार्यसमिति चयन भएको छ। शनिबार कात्तिक १४ गते सम्पन्न समाजको चौथो अधिवेशनले धर्मराज पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

विभिन्न देशमा रहेका सुदूरपश्चिमेली नेपालीहरूलाई समेट्दै गठन गरिएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बहराइनका उमेश जोशी, उपाध्यक्षमा जापानका विनोद चन्द, महिला उपाध्यक्ष दिपा देबी ऎर र दक्षिण कोरियाका दिल्ली राज पनेरु चयन भएका छन्।
त्यस्तै, महासचिवमा पोर्चुगलका डम्मरबहादुर खड्का, सचिवमा थाइल्यान्डका राजबहादुर साउद, कोषाध्यक्षमा भारतका भुवनप्रसाद भट्ट र सहकोषाध्यक्षमा क्रोएसियाकी निलम मल्ल ठकुरी चयन भएका छन्।




समाजको गल्फ संयोजकमा रमेश जोशी तथा गल्फ उपसंयोजकमा यूएईका दामोदर ठगुन्ना चयन भएका छन्। यसैगरी, विभिन्न देशमा रहेका सुदूरपश्चिमेली प्रतिनिधिहरूलाई समेटेर केन्द्रीय सदस्यसमेत चयन गरिएको छ।
यसैबीच, समाजका निवर्तमान अध्यक्ष शेरबहादुर रावतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै संस्थालाई विधानअनुसार अगाडि बढाउँदै सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन्।
पहिलो बैठकबाटै संस्कृत गुरुकुललाई ५० हजार सहयोग
नवनिर्वाचित कार्यसमितिले पहिलो बैठकबाटै सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको छ। बैठकले डोटीको शिखर नगरपालिका–६, चुडिमा रहेको श्री मष्टा संस्कृत गुरुकुल विद्याश्रमलाई ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
समाजका वरिष्ठ उपाध्यक्ष उमेश जोशीका अनुसार गुरुकुलमा आवश्यक शैक्षिक सामग्री तथा वाद्यवादनका सामग्री खरिद गर्न उक्त रकम उपलब्ध गराइनेछ। संस्कृत शिक्षा तथा गुरुकुलको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले निर्णय गरिएको उनले बताए।
विदेशमा रहेका सुदूरपश्चिमेली नेपालीहरूबीच एकता, सहकार्य र आपसी सद्भाव कायम गर्दै मातृभूमिको शिक्षा, संस्कृति तथा सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्यसहित समाजले आगामी दिनमा पनि विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने अपेक्षा गरिएको छ।



































